|
यही २०६७ पुस २४ गते शनिबारका दिन करुणा इन्टेरिअर गैरीधाराको कम्पाउन्डमा उपलब्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो साधारणसभा संस्थाको आर्थिक गतिविधिसहित विभिन्न कार्यक्रम गरी सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथिबाट पानसमा दीप बाली उद्घाटन गरिएको उक्त कार्यक्रममा संस्थाको आयव्यय, बजेट र आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गरियो । संस्थाका अध्यक्ष देवराज शर्माको सभापतित्वमा सुरु भएको सो कार्यक्रममा आख्यानकार रोशन थापा 'नीरव'को तेस्रो नवीनतम उपन्यास स्वप्नसहरको पनि विमोचन गरियो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव वरिष्ठ आख्यानकार सनत रेग्मीले सो उपन्यासको विमोचन गर्दै सहकारीबारे आफ्नो मन्तव्य दिई साहित्य र सहकारीको सङ्गम वास्तवमै अहिलेको आवश्यकता हो भन्नुभयो र त्यस्तै समकालीन नेपाली आख्यानमा विशेष गरेर युवालेखनमा रोशन थापा 'नीरव'को लेखन प्रयोगात्मक र प्रशंसनीय रहेको छ भने त्यस्तै पठनीय प्रयोग यस उपन्यासमा भएको छ भन्नुभयो । उक्त कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक एवम् साहित्यकार विपिन शर्माले साहित्य पनि अब व्यावसायिक अवस्थामा हिँड्नुपर्ने भएकाले यस सहकारी संस्थाले आगामी दिनमा साहित्य विकास कोष स्थापना गर्नुका कारण र अनिवार्यतालाई जोड दिनुभयो । यस कार्यक्रममा उपलब्धि बालप्रतिभा-२०६७ प्रतियोगितामा सहभागी र उत्कृष्ट बालबालिकाहरूलाई पुरस्कृत गरिएको थियो भने कार्यक्रममा अन्य अतिथि वक्ताहरूमा वरिष्ठ कवि रत्नशमशेर थापा, आख्यानकार एवम् प्राज्ञ भाउपन्थी, प्राज्ञ सभासद् एवम् कथाकार माया ठकुरी, कलाकार लक्ष्मी गिरी, सहकारीकर्मी एवम् लेखक मित्रसेन दाहाललगायतका व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो ।
|
Post Your Comments